बनेपा- जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ। कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आइसोलेसन सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो।
निर्णयसँगै बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्गले गर्नेछ।
शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ।
काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट संक्रमितको संख्या ७ सय नाघेको छ। जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन १५८ जनामा संक्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय संक्र्रमितको संख्या ७६८ पुगेको छ।
आइसोलेसन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको छ।
रासस