काठमाडौं- हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)ले कोभिड बिरामीसँग स्वास्थ्य मन्त्रालयले तोके अनुसारकै शुल्क लिएको जानकारी सार्वजनिक गरेको छ। कोरोना संक्रमितसँग अस्पतालले बढी शुल्क लिएको आरोप लागेपछि अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारले तोके अनुसारकै शुल्क लिएको जानकारी सार्वजनिक गरेको हो।
अस्पतालले अक्सिजनसहितको उपचारका लागि भर्ना भएका संक्रमितसँग सरकारले तोके बमोजिमकै शुल्क लिएको प्रष्ट पारेको छ। क्याबिनका हकमा पनि स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुसार नै शुल्क तोकिएको जनाएको छ।
‘अस्पतालले वैज्ञानिक तवरले निर्धारण गरे अनुसारको शय्या शुल्क लिइरहेको जानकारी गराउन चाहान्छौं। विगत १ बर्षदेखि उक्त शुल्कमा सेवा प्रदान गरिआएको छौं। जनरल बेडको हकमा सरकारले तोके बमोजिम नै ७ हजार रुपैयाँ प्रति दिनमा बिरामीलाई सेवा प्रदान गरिरहेको छौं,’ अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘हाल भर्ना भएका सबै विरामी आइसोलेसनको लागि नभएर अक्सिजन सहितको उपचारको लागि भर्ना भएका हुनाले उक्त दर नेपाल सरकारले तोके बमोजिम नै रहेको छ। क्याविनको हकमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप वैज्ञानिक हिसावले दर तोकेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
अस्पतालले आर्थिक हैसियतको हिसाबले बिरामीको उपचारमा कुनै फरक नगर्ने पनि प्रष्ट पारेको छ। ‘जनरल बेड होस वा क्याबिन जुनसुकै बेडमा बसेर उपचार गरे पनि हामीले बिरामीलाई दिने सेवा एउटै हो। आर्थिक हैसियतको हिसावले बिरामीको उपचार फरक ढंगले गर्दैनौं। बिरामीले अतिरिक्त सुविधाका लागि क्याबिनमा बस्दा केहि अतिरिक्त शुल्क तिर्ने मात्र हो।’
सुरक्षित वातावरणमा सेवा दिनु पर्ने हुनाले कोभिड–१९ को प्रकोप पश्चात अस्पतालहरुमा थप चुनौती थपिनुका साथै खर्चमा व्यापक वृद्धि भएको कुरा पनि विज्ञप्तिमा उल्लेख छ।
अस्पतालले कोभिड–१९ को उपचारमा बिरामीबाट अधिक मात्रामा शुल्क असुल गरेको भन्ने कुरा असत्य भ्रामक रहेको पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ।
‘अस्पतालको. सेवा शुल्कको विषयलाई विभिन्न स्वार्थका लागि नकारात्मक तथा भ्रामक समाचारहरु प्रकाशन गर्नु खेदपूर्ण तथा दुखद छ। उक्त भ्रामक समाचारबाट विचलित नभई यस अस्पतालले नियमित सेवा प्रदान गर्ने तत्थ्य सम्पूर्ण बिरामी तथा विरामीका आफन्तहरु एवं आमजनमानसलाई अस्पतालको तर्पmबाट जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ।