काठमाडौं- वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नर्सहरुको सम्मान गर्दै आमाको संज्ञा दिएका छन्।
न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियापछि अस्पतालमा उपचाररत भट्टराईले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नर्सहरुलाई दोस्री आमाको संज्ञा दिएका हुन्। उनले नर्सहरुको सम्मानमा लेखेको स्ट्याटसमा नर्सहरुको सेवा सुविधा बढाउनु पर्ने कुरा पनि लेखेका छन्।
नर्सहरुलाई करारमा राख्ने, न्यूनतम तलब दिने भत्ता नदिने विषयको विरोध गरेका छन्।
यस्तो छ भट्टराईले लेखेको स्ट्याटस
हाम्रा दोस्री आमा यी नर्सहरू !
स्कूलमा फ्लोरेन्स नाइटिंगेलको जीवनी “लेडी विथ ल्याम्प” पढेर नर्सहरूको पेशागत महानताबारे पहिलो पाठ बुझिएको हो! पछि जीवनमा पटक पटक हस्पिटलमा उनीहरूको महत्वपूर्ण भूमिकाबारे प्रत्यक्ष भेगिएको पनि हो।
तर यस पटक वीर हस्पिटलमा (खास गरी अपरेसन पश्चातका पाॅच दिन आइसीयूमा) बस्दा नर्सहरू हाम्रा जन्मजननी आमाकै नयाॅ अवतार भएको अन्तरहृदयैदेखि अनुभूति भयो!
कहिल्यै नचिनेका, कुनै नातासाइनो नभएका रोगी/अशक्त/अचेत मानिसहरूको दिसापिसाब सोहोर्ने, प्रदुषित शरीर सफा गर्ने, डाइपर समेत लगाइदिने, रातदिन झर्को नमानी बिरामीहरूको स्याहार गर्ने काम अरू कसले गर्नसक्छ?
अनि उल्टै उनीहरूलाई नै ‘..छोरी बिग्रे नर्स..’ भनेर हेप्ने? १२/१३ बर्षसम्म करारमा काम लगाउने? न्यूनतम वेतन दिन समेत आनाकानी गर्ने? प्रोत्साहन भत्ता रोकेर राख्ने?....
यस्ता साक्षात ‘देवी’हरू,हाम्रा दोस्री आमाहरूलाई हार्दिक नमन !!