काठमाडौं- संघीय संसद् सचिवालयमा कार्यरत एक उपसचिवको कोरोना संक्रमणपछि मृत्यु भएको छ।
चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा रहेका उनलाई शुक्रबार बिहान श्वास-प्रश्वासमा समस्या भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घरमै आइसोलेसनमा बसेका उनलाई बुधबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार बिहान ४ बजे अचानक अक्सिजनको मात्रा कमि भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवलायका सूचना अधिकारी दशरथ धमलाले उनी यसअघि नै बिरामी रहेको र कोरोना संक्रमण पनि भएपछि मृत्यु भएको पुष्टि गरे। धमलाका अनुसार बुधबारको परीक्षणपछि बिहीबार प्रतिनिधि सभाका ४ जना सांसद र ३ जना कर्मचारीमा कोरोना देखिएकोमध्ये उनी पनि एक थिए।
२७ वैशाखमा बस्न लागेको प्रतिनिधि सभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरूको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो। बिहीबार गरेको परीक्षणको रिर्पोट हालसम्म प्राप्त भएको छैन।
बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका सांसद, संसद्का कर्मचारी र संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूको स्वाब संकलन गरिएको थियो।