काठमाडाैं- कास्की प्रहरीले अक्सिजनको १८७ थान खाली सिलिण्डर संकलन गरी अक्सिजन उत्पादन गर्ने कम्पनीलाई हस्तान्तरण गरेको छ। कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो।
कास्की जिल्लाअन्तर्गत विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसँग रहेका अक्सिजन ग्यास सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गरिएको प्रहरीले जनाएको छ। संकलित सिलिण्डर पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
'सम्बन्धित संस्था तथा कम्पनीहरुलाई पछि फिर्ता गर्ने गरी यस जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयसमेतबाट संकलन गरी हाललाई कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारार्थ विभिन्न अस्पतालहरुमा पठाउने गरी अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरिएको छ,' कास्की प्रहरीले जनाएको छ।