फाइल तस्बिर
काठमाडौं– नेपाल–भारत सीमा क्षेत्र (झापाको काँकरभिट्टा)मा नेपाली सेनाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने भएको छ।
शनिबार बसेको झापा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी काँकरभिट्टा नाका नजिक सेनाले १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको हो।
होल्डिङ सेन्टर अर्ध–स्थायी प्रकृतिको हुनेछ। होल्डिङ सेन्टर बनाउनका लागि मेचीनगर नगरपालिका वडानम्बर ६ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय समेत डीसीएमसीको बैठकले गरेको छ।
डीसीएमसीको बैठकले निर्माण सामग्री बोकेका सवारी साधनलाई विहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ।
यस्तै, एम्बुलेन्स, शव–वाहन लगायत अन्य कुनै पनि सवारी साधनहरुले तोकिएकोभन्दा बढी भाडा असुली गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए।