काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिन (शनिबार) ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन्।
शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार २७० छन्। यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडाैं उपत्यकामा साढे ३५ हजार काेराेनाका सक्रिय संक्रमित पुगेका छन्।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरमा हाल ३५ हजार ६७८ जना सक्रिय संक्रमित छन्।
त्यसमा काठमाडौं जिल्लामा २६ हजार ४२६, भक्तपुरमा ३ हजार ५४० र ललितपुरमा ५ हजार ७१२ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
काठमाडाैं उपत्यकामा मृतककाे संख्या पनि उच्च रहेकाे छ। मन्त्रालयका अनुसार काठमाडौंमा ८२०, भक्तपुरमा १७२ र ललितपुरमा २३३ संक्रमितकाे मृत्यु भइसकेकाे छ।
काठमाडौंमा एक लाख १४ हजार ५८० जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, भक्तपुरमा ९ हजार ९१४ र ललितपुरमा १७ हजार ८१३ संक्रमणमुक्त भइसकेका छन्।