काठमाडाैं- सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका ९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ४ की ३५ वर्षीया महिला, धनगढी १८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो।
यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका २ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका ११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
पछिल्लो २४ घण्टामा सेतीको प्रयोगशालामा ६२३ को नमुना परीक्षण गर्दा ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुमध्ये धनगढी उपमहानगरपालिकाका मात्र २४० जना छन् भने कैलालीकै अन्य स्थानीय तहका ७३ र विभिन्न जिल्लाका १५ जना रहेको अस्पतालले जनाएको छ ।