काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको असक्षमताका कारण कोरोनाले भयावह रुप लिएको बताएका छन्।उनले अहिले संक्रमितहरू अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटर नपाएर मरिरहेको बताए।
प्रतिनिधि सभाको सोमबारको बैठमा बोल्दै उनले कांग्रेसले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेको आरोप लगाए। सरकारले सावधानी नअपनाउँदा यस्तो भएको उनको भनाइ छ।
'महामारी शुरु हुँदा र संक्रमित बढ्दा प्रधानमन्त्री सम्पन्न नभएको धराहरा उद्घाटन गर्न गएकै हो। कोरोना महामारीको समयमा भ्याक्सिन खरिदमा भ्रष्टाचार भएको सार्वजनिक भएको छ। विगतमा पनि औषधी खरिदमा पनि भ्रष्टाचार भएको थियो। व्यापारिक घरानालाई पोस्न भएको भ्रष्टाचार नेपाली जनताले बिर्सदैनन्', देउवाले भने।
जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुल हेरेर बस्ने प्रधानमन्त्री पाउनु विडम्वना बाहेक के हुन्छ? भन्दै उनले प्रश्न गरे।