काठमाडौं- देशभर संचालित अभिमुखीकरण र तालिम कार्यक्रममा एकरुपता र गुणस्तरीयता ल्याउन पुस्तिका निर्माण गरिएको छ। स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालयका शिक्षकशिक्षिकाका लागी तालिम पुस्तिका एक कार्यक्रमका बीच स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले सार्वजनिक गरेका हुन्।
यसका साथै बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक, प्रमुख तथा फोकल पर्सन, जिल्लाका स्वास्थ्य प्रमुख, महानगर तथा उपमहानगर र नगरपालिकाका स्वास्थ्य प्रमुख स्वास्थ्यकर्मीको सहभागीतामा अभिमुखीकरण कार्यक्रम पनि भएको छ।
महानिर्देशक डा सिंहले सरकारी सेवामा एकीकृत हुन नसकेको विशेषज्ञ सेवाहरु सर्वसाधारणको पहुँचमा पुर्याउन यो कार्यक्रम र पुस्तिका कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे।
उपचारात्मक सेवा महाशाखाका निर्देशक डा मदन कुमार उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा सहभागीहरुलाई स्वागत शाखा प्रमुख डा प्रकाश बुढाथोकीले गरेका थिए।
सहभागीका तर्फबाट लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरी र ललितपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले आफ्नो तहमा योजना बनाउन,कार्य गर्न र जनचेतना फैलाउन यस कार्यक्रम र पुस्तिकाले धेरै सहयोग गर्ने धारणा राखेका थिए।
विशेषज्ञ सेवाका रुपमा परिचित आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य सेवा तल्लो तहसम्म पुरयाउन तथा आम नागरिकमा रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गर्न उपचारात्मक सेवा महाशाखा अन्र्तगत रहेको आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखा लागीरहेको डा बुढाथोकीले जानकारी दिए।
उनका अनुसार विगत २ बर्षदेखी हरेक स्थानीय तहमा शसर्त कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी र स्वास्थ्यकर्मीका लागी अभिमुखीकरण तथा प्रदेश सरकारबाट तालिम संचालन हुँदै आइरहेको छ।
प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका लागी पनि निकट भविष्यमा अभिमुखीकरण गरिने डा बुढाथोकीले जानकारी दिए।