काठमाडौं– धादिङका क्रसर व्यवसायीहरुले जिल्ला अस्पताल धादिङको कोभिड–१९ अस्थायी अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्।
धादिङ क्रसर व्यवसायी संघले विभिन्न क्रसर उद्योगहरुमा रहेका ४७ वटा अक्सिजन सिलिण्डर जम्मा गरि जिल्ला अस्पताल धादिङलाई उपलब्ध गराएको हो।
कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन आवश्यक पर्ने संक्रमितहरुलाई अक्सिजन अभाव हुन नदिन संघले सबै क्रसर उद्योग तथा पृथ्वी राजमार्ग क्षेत्रका ग्यारेजहरुमा रहेका सिलिण्डरहरु संकलन गरि उपलब्ध गराएको संघका महासचिव पुरुषोतम रेग्मीले जानकारी दिए।
उनका अनुसार उक्त अक्सिजन सिलिण्डरमा अक्सिजन रिफिलिङका लागि स्वास्तिक ग्यास उद्योग रामनगर चितवन पठाइएको छ।
सिलिण्डरमा अक्सिजन रिफिलिङको खर्च तथा ढुवानी खर्च धादिङका निर्माण व्यवसायी नारायण कुमार श्रेष्ठले व्यर्होन लागेको रेग्मीले बताए।
‘अस्पतालमा संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव नहोस् भनेर हामीले हामीसँग भएका तथा राजमार्ग क्षेत्रको ग्यारेजबाट पनि सिलिण्डर जम्मा गरेर बुझाएका हौं,’ उनले भने, ‘हामीले खाली सिलिण्डर जम्मा गर्यौं धादिङ बेसीबाट नारायण श्रेष्ठले खर्च व्यहोर्ने गरी अक्सिजन भर्न पठाइएको छ।’
जिल्ला अस्पताल धादिङको कोभिड–१९ अस्थायी अस्पतालमा हाल ५० जना कोरोना संक्रमित उपचारत छन्। ती मध्ये करिब २८ जना संक्रमितलाई अक्सिजन सपोर्टमा राखिएको जिल्ला अस्पताल धादिङले जनाएको छ।