काठमाडौं– नेपाल मेडिकल कलेजले अक्सिजन सकिन लागेको भन्दै अस्पतालमा उपचाररत सबै बिरामीलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ।
काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अक्सिजन नपुग्ने भन्दै सबै बिरामीलाई आफ्नो व्यवस्था आफैं गर्नु भन्दै विज्ञप्ती निकालेको हो।
अस्पतालको उक्त विज्ञप्तिपछि १२ जनाजति डिस्चार्ज भए भने १० जनाले आफैं अक्सिजनको व्यवस्थापन गरेको अस्पतालका निर्देशक डा राजेश किशोर श्रेष्ठले जानकारी दिए।
अस्पतालले अक्सिजन सप्लाई गर्ने कम्पनी सोपान फर्मासिटिकल्स लिमिटेडले मेसीन बिग्रिएको कारण तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना अत्यन्त न्यून रहेको बताएको छ। यस्तै अन्यत्रबाट पनि अक्सिजन उपलब्ध हुन नसकेको र अस्पतालमा भएको अक्सिजन सकिएकाले बाध्य भएर विज्ञप्ति निकाल्नु परेको अस्पतालले जनाएको छ।
अक्सिजन सकिन लागेकाले बिरामीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन हुने सक्ने देखिएको भन्दै अस्पतालले आ–आफ्नो व्यवस्था गर्न सबै बिरामी पक्षलाई सूचित गरेको जनाएको छ।
मेडिकल कलेजले अक्सिजन उपलब्ध हुन नसक्ने भन्दै बिरामी डिस्चार्ज गर्न लागिएको जानकारी स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्त बौद्धलगायतलाई गराएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
मेडिकल कलेजका निर्देशक डा राजेश किशोर श्रेष्ठले अक्सिजन पाउनै मुस्किल भएकाले बिरामीलाई आफ्नो व्यवस्था आफैं गर्न भनिएको बताए ।
‘सात दिन भयो अक्सिजनको लागि हामी तड्पिएको। सप्लायर्ससँग अरुले दादागिरी गरेर लिन थाले, हामीले ल्याउन सकेनौं,’ उनले भने, ‘५ मिनेट मात्र अक्सिजन रोकियो भने ५०,६० को मृत्यु हुनसक्छ, फेरि हामीलाई बिरामी मारेको आरोप लाग्छ, त्यो भन्दा समयमै बिरामीलाई आफैं व्यवस्था गर्नु भनेर सचेत गराएका हौं।’
अस्पतालले ४ बजे नै अक्सिजन सकिन लागेको भन्ने विज्ञप्ति निकालेपछि ४ बजेपछि सरकारले १३ वटा अक्सिजन सिलिण्डर पठाएको र त्यसैले उपचाररत बिरामीलाई सेवा दिइएको बताए।
‘अक्सिजन ल्याउन हामीले कोशिस गरिरहेका छौं,’ डा श्रेष्ठले भने, ‘स्वास्थ्य मन्त्रालयले ५० वटा उपलब्ध गराउछु भनेको छ, ७ बजेसम्ममा आएन भने के हुन्छ हामी भन्नै सक्दैनौं।’
डा श्रेष्ठका अनुसार अस्पतालमा ९९ जना कोरोना संक्रमित उपचारत छन्। ती मध्ये ८० जनालाई अक्सिजन सपोर्टमा राखिएको छ।