काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन वा अन्त्येष्टि गर्दा २५ जना भन्दा बढी मलामी नजान अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी व्यक्ति मलामी नजान सो सम्भव नभएमा नेपाली सेनाले व्यवस्थापन गर्ने जनाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी हुन नपाइने स्पष्ट पारेको छ।
‘नयाँ भेरियन्ट सहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८’ को धारा २१(छ) र कोभिड१९ कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी सक्षिप्त कार्यविधि,२०७६ अनुासर यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ।
संक्रमितको मृत्यु भएको खण्डमा अस्पतालहरुले समयमा नै आवश्वयक समन्वय र सहजीकरण गर्ने, मर्चरी २४ घण्टा खुला राख्ने र मृतकको आफ्न्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत मन्त्रालयले अस्पतालहरुको ध्यानाकर्षण गराएको छ।