काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका छन्। थापाथलीस्थित नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत उनी बुधबार साँझ ८ बजे डिस्चार्ज भएका हुन्।
शाह कोरोना संक्रमण भई १९ दिनअघि पूर्वरानी कोमल र छोरी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। ‘लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो। कोरोनाका लक्षणहरू हराएपछि उहाँको तीन दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उहाँलाई डिस्चार्ज गरिएको हो,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अस्पतालमा उपचाररत पूर्वरानी कोमलको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ। उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो। कोमलको उपचार प्लाज्मा थेरापी विधिबाटसमेत गरिएको थियो। उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालको भनाइ छ।
प्रेरणाको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै रहेको जानकारी दिइएको छ।