काठमाडौं– काठमाडौं जिल्ला प्रशासनले संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएको छ।
विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामी भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको हो।
संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्ष लागिरहेको प्रशासनको भनाइ छ।
जारी प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारणमा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ।
यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।