काठमाडौं- एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अफिनले मन्त्रालयले ठोस कदम चाल्नुको साटो हावादारी निर्णय गरेको भन्दै विरोध गरेको छ। कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले अक्सिजन प्लान्ट जडान गर्न कम्तिमा तीन महिना लाग्ने जनाएको छ।
‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन। विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ,’ अफिनले जारी विज्ञप्तिमा भनेको छ।
अफिनले आज प्रेस विज्ञप्ति जारी गर्दै सय बेडका नीजि अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान जडानको निर्देशन दिनु गैरजिम्मेवारपूर्ण निर्णय भएको समेत बताएको छ।
कोभिड महामारीका कारण देशभरी अक्सिजन अभावबारे सबै अवगत भएको भन्दै अफिनले कोरोना उपचार गरिरहेका नीजि अस्पतालहरुलाई राज्यले अत्यावश्यक स्रोतसाधन राज्यले उपलब्ध गराउनुको साटो गैर जिम्मेवारपूर्ण निर्णयले भएको विज्ञप्तिमा उल्लेख गरेको छ। विषम परिस्थितिमा यस्तो निर्णयले राज्य कसरी संचालन भइरहेको भन्ने स्पष्ट भएको अफिनको ठहर छ।
निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प नभएकोले १५ दिनमा जडान सम्भव नभएको अफिनको तर्क छ।
अफिनले सरकारको मापदण्ड बमोजिम १०० बेडको अस्पतालका लागि आवश्यक अक्स्जिन प्लान्टको मूल्य २ करोड पर्ने र सोको जडानका लागि ५० लाख थप लगानी लाग्ने भन्दै वर्तमान परिस्थिती उक्त लगानी गर्न सबै अस्पताल सक्षम नरहेको अफिन स्पष्ट पारेको छ।
देशभर अक्सिजनको अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने माग पनि अफिनले राखेको छ। सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पताल तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।