कैलाली- कैलालीको धनगढीमा रहेको नेपाली सेनाको अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि रु ३० लाख सहयोग प्रदान गगरिएको छ। दिनहुँ कोरोना सङ्क्रमितका बिरामी बढ्दै जान थोपछि कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई सो रकम प्रदान गरेको हो।
प्रदेश सरकारले सेनाको अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गरिदिन आग्रह गरेको थियो। कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको जनाइएको छ। कैलालीको धनगढीमा नेपाली सेनाका परिवारलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको सो अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको उपचार गर्ने गरी तयारी अगाडि बढाइएको सुदूरपश्चिम पृतनाले जनाएको छ।
अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढेको जनाइएको छ। नेपाली सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाका अनुसार अस्पताल सञ्चालनका लागि काम तीब्रगतिमा अघि बढाइएको छ। सो अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ।
रासस