काठमाडौं– शुक्रबार दिउँसो पद तथा गोपनीयताको सपथ लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिकै मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे दुई बजे राष्ट्रपति भवनमा हुँदैन।
आफूले सपथ लिएलगत्तै केही मन्त्रीलाई पनि सपथ गराउने प्रधानमन्त्रीको तयारी छ। त्यसमा धेरै अनुहार उनको यसअघिकै मन्त्रिमण्डलका सदस्य हुनेछन्।
स्वास्थ्य मन्त्रालयमा हृदयेश त्रिपाठीलाई नै दोहोर्याउने तयारी भएको बुझिएको छ। 'तर केहीले कोभिड खोपमा विवाद निस्किएकाले त्रिपाठीलाई दोहोर्याउन नहुने पनि भनिरहेका छन्' बालुवाटार स्रोतले भन्यो, 'अहिलेको समयमा धेरै परिवर्तन गर्न हुँदैन भनेर त्रिपाठीलाई नै दोहोर्याउने तयारी भएको छ।'
प्रधानमन्त्रीले आज स्वास्थ्य राज्यमन्त्रीमा भने कोही नियुक्त गर्ने सम्भावना नरहेको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री रहेका नवराज रावतलाई तत्कालै दोहोर्याउने सम्भावना निकै कम छ।
मन्त्रीको सपथ लिए लगत्तै स्वास्थ्य मन्त्रालयमा मन्त्री त्रिपाठी पुन पदवहालीका लागि पुग्ने तयारी समेत भएको छ।