काठमाडौं– नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको जस्ता कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट पारेको हो।
विषम घडीमा पनि निष्ठापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक अतिरञ्जित आरोप लगाइनु, सामाजिक सञ्जालमा प्रचार र प्रचारित भएको भन्दै प्रहरी प्रधान कार्यालयले दुःख व्यक्त गरेको छ।
यस्ता भ्रामक समाचारहरुप्रति विश्वास गर्न उसले आग्रह गरेको छ।
प्रहरी नायव महानिरीक्ष्क प्रकाश अधिकारीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘महामारी विरुद्धको यो अभियानमा नेपाल प्रहरी फेरि पनि स्वास्थ्य क्षेत्रलाई पुर्याउनु पर्ने हर सहयोगका लागि प्रतिवद्ध छ।’
कोभिड–१९ महामारीको यो विषयम परिस्थितमा चिकित्साकर्मी तथा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै प्रहरीले स्वास्थ्यकर्मीसँगको सहकार्यमा प्रहरी कर्मचारीहरु पनि अहोरात्र फिल्डमा खटिएको स्मरण गराएको छ।
अक्सिजनको कमी हनु नदिन नेपाल प्रहरीले विभिन्न प्रयोजनमा रहेका ७ हजार भन्दा बढी उपयोगी अक्सिजन सिलिण्डरहरु नियन्त्रणमा लिइ देशभरका विभिन्न अस्पताललाई वितरण गरेको भन्दै प्रहरी विरुद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जामाल अनर्गल प्रचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ।