काठमाडौं– बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको आकस्मिक सेवा विभागमा टेन्ट राखिएको छ। टेन्टभित्र अक्सिजन सपोर्टमा कोरोना संक्रमित उपचाररत छन्।
बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भेरी अस्पताललाई कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न ठाउँ समेत अभाव हुन थालेको छ।
अस्पतालको आकस्मिक सेवा विभागका १६ वटा बेडमा बिरामी भरिएपछि आकस्मिक अगाडी नै टेन्ट राखेर बिरामीलाई उपचार गरिएको हो।
अस्पतालका निर्देशक डा प्रकाश बहादुर थापाका अनुसार अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोरोना वार्डमा बेड खाली नहुँदासम्मका लागि बिरामीलाई टेन्टमै होल्ड गरिएको हो।
‘इमर्जेन्सीका १६ मध्ये सबै बेडमा बिरामी भरिएकाले इमर्जेन्सी अगाडि पाल टाँगेर समेत केहि राहत दिने प्रयास गरेका छौं,’ उनले भने, ‘अक्सिजन सिलिन्डर वा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोभिड वार्डमा बेड खाली नहोउन्जेल ‘होल्ड गर्ने’ गरिएको हो । अस्पतालसम्म आइपुगेका जटिल बिरामीलाई फिर्ता गर्नु भन्दा अक्सिजन दिएर ज्यान बचाउने अन्तरिम तर बाध्यात्मक परिस्थिति हो यो ।’

अस्पतालका अनुसार शुक्रबार ३ बजेसम्ममा मात्र अस्पतालमा २४२ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये १६० जना मध्यम अवस्थामा र ८२ जना गम्भीर अवस्थाका बिरामीहरु एचडियु र आइसीयूमा उपचाररत छन्।

