जुम्ला- कर्णाली प्रदेशको हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ। कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित जुम्ला ल्याइएको हो।
कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछी दुई जना बिरामीलाई जुम्ला रेफर गरिएको कालिकोट जिल्ला अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार तिलागुफा नगरपालिकाका ६१ वर्षीय एक महिला र खाँडाचक्र नगरपालिका निवासी ४१ वर्षका एक पुरुष जुम्ला अस्पतालमा ल्याइएको हो ।
अक्सिजन अभाव भएपछि संक्रमित बचाउन गाह्रो हुने भन्दै जुम्ला अस्पतालमा रेफर गरिएको कोभिड अस्पताल कालिकोटका डा रामकमल कार्कीले जानकारी दिए। उनले भने, ‘कालिकोटमा अक्सिजन अभाव छ। अक्सिजन अभाव भएर बिरामीको मृत्युको अवस्था आउन नदिन जुम्लामा रेफर गरेका हौँ। एक दुई सिलिन्डर मात्र अक्सिजन छ। यसले नपुग्ने आएको समस्या भयो।’ अहिले कालिकोट कोभिड अस्पतालमा २५ जना संक्रमितको उपचार भइराखेको छ।
जिल्लामा रहेको कोभिड अस्पतालमा अक्सिजन अभाव हुँदा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था विकराल बनेको स्थानीय बताउँछन। बिरामीलाई अक्सिजन दिनुका साथै भेन्टिलेटरमा राख्नु पर्ने अवस्था छ।
यस्तै, हुम्लाबाट पनि एक जना संक्रमित स्वास्थ्यकर्मी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याइएको छ। कोभिड अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि जुम्ला अस्पताल ल्याउनु परेको प्रतिष्ठान जुम्लाले जनाएको छ।
संक्रमित ल्याउनको लागि काठमाडौं देखि हेलिकप्टर हुम्ला पुगेर हुम्लाबाट हेलिकप्टरमा संक्रमित जुम्ला पठाइएको हुम्ला अस्पतालले जनाएको छ। यसअघि कोरोना संक्रमित उपचारको लागि सुर्खेत नेपालगंजबाट जुम्ला पुगेका थिए। जुम्लामा २६ जना संक्रमितलाई अक्सिजन दिएर उपचार भइराखेको छ। कालिकोटका बिरामी एम्बुलेन्स मार्फत जुम्ला ल्याएको हो।