जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाले आइसोलेसन कक्ष बनाउन नसक्दा संक्रमित होम आइसोलेसनमा बसेका छन्। यहाँका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा सबैभन्दा बढि संक्रमित चन्दननाथ नगरपालिका भित्रका छन्। नगरपालिका भित्र ६७ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
सहरी क्षेत्र र जनघनत्व पनि अरु गाउँपालिका भन्दा बढी नै छ। तर यहाँ आइसोलेसन बनिसकेको छैन। संस्थागत आइसोलसेन नभएकाले सबै संक्रमित होम आइसोलेसन बस्ने गरेको स्थानीय बताउँछन्।
घरमा बस्ने भएकोले संक्रमितहरु जोखिमपूर्ण अवस्थामा बस्ने गरेको बताइएको छ। नगरपालिकाले आइसोलेसन बनाएर संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा हुनु पर्नेमा स्थानीयको जोड छ। तर, संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँमा जाने गरेका कारण अत्यधिक जोखिम बढेको स्थानीय बताउँछन्।
स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार पातारासीमा ३२ जना, गुठीचौरमा २६ जना,तातोपानीमा ५ , तिलामा ११, हिमा २, सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना कोरोना संक्रमित छन्। अन्य ३८ जना गरी २२४ कोभिडको बिरामी रहेका छन्।
स्थानीय तह आइसोलेसन निर्माण गरेर संक्रमित राख्ने तर्फ चासो नदिइएको आरोप स्थानीयको छ। कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि १ जेठदेखि ११ गतेसम्म स्वास्थ्य क्षेत्रबाहेक सबै ठप्प पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताउँछन्।
उनले भने,‘हरेक स्थानीय तहमा न्युनतम ५०/५० बेडको आइसोलेसन निर्माण गर्न आग्रह गरिएको छ। ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउन भनिएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय स्थानीयतहले लागु गरेको खण्डमा संक्रमितको व्यवस्थापन राम्रै हुनेदेखिन्छ। सबैक्षेत्र चनाखो र जिम्मेवार हुनु अहिलेको आवश्यकता हो।’
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल संघीय सरकारले बजेट व्यवस्थापन नगरेकोले आइसोलेसन बनाउन नसकिएको बताउँछिन्। उनले भनिन्,‘नगरपालिका भित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भनेर बजेट आउँदैन। हामी कसरी आइसोलेसन बनाएर संक्रमितको व्यवस्थापन गरौँ।’
उनले नगरपालिकामा बजेट अभावका कारण आइसोलेसन बनाउन नसकिने जानकारी दिइन्।
‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी खटिएका छौँं,’ उनले भनिन्, ‘होम आइसोलेसनमा बसेका संक्रमितलाई पोषणयुक्त आहारा दिन्छौँ। स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यन्वयन गर्न सचेतना दिन्छौँ। तर संक्रमित होम आइसोलेसनमा नै बसेका छन्।’
संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि स्थानीय त्रासिद छन्। उनीहरु संक्रमितको व्यवस्थापन गरेर कोरोना फैलन नदिन स्थानीय सरकारलाई आग्रह गर्छन्।