म्याग्दी– बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ। अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए।
‘विभिन्न संघसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्वार प्रणालीबाट कोरोना सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो,’ उनले भने, ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर सङ्कलन भइरहेको छ।’
जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।
कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने गरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ। रासस