जुम्ला- जुम्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भएको छ। शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारीस गरेपछि दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो।
यसअघि बैशाख २३ गतेदेखि ३१ गते सम्म निषेधाज्ञा गरिएको थियो। दोस्रो पटकको निषेधाज्ञा शनिबार दिउसो १२ बजेदेखि लागु हुने गरि जेठ ११ गते सम्मका लागि गरिएको हो।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण फैलन नदिको लागि निषेधाज्ञा बाहेकको विकल्प नभएको निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले जानकारी दिए।
दिउसो १२ बजेदेखि सदरमुकाम खलंगा र ग्रामिण बजारमा रहेका मेडिकल सेवा बाहेक सबै सेवा ठप्प छन्। सडकमा सवारीसाधन चलेका छैनन्। अति जरुरी यात्रा गर्नु पर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले पासको व्यवस्था गरेको छ। प्रशासन कार्यालयबाट पास लिइएका सवारीसाधन मात्र चल्न पाउने भएका छन्।
निषेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजि सवारी साधनले अनिर्वाय रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्नु पर्ने उनले बताए। कोभिड–१९ को तिव्र संक्रमण बढेको र जनसमुदायको लापरवाही बढेकोले निषेधाज्ञा जारी गर्नु परेको जिल्ला सुरक्षा समितिले जनाएको छ।
कोरोना संक्रमण फैलन नदिको लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पुर्ण पालना गर्ने जुम्लाबासीले जनाएका छन्। यो बीचको समयमा जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण र एन्टीजेन परिक्षणको लागि दायरा बढाउनेछन्।
हरेक स्थानीय तहले न्युनतम ५० बेडको आइसोलेसन निर्माण गर्नुपर्नेछ। ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनु पर्ने बैठकले निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निषेधाज्ञाको पुर्ण पालना गर्न आग्रह गरेका छन्।
उनले भने,‘कोरोना संक्रमणको दर तिव्र रुपमा बढिरहेको छ। घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्दै नियमित रुपमा सावुनपानीले हात धुने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने बिषयमा चनाखो रहन अपिल गरिएको छ। ’
अहिले पहिलो चरणको कोरोना संक्रमणका बेला स्थानीयतहमा बनेको क्वारेन्टिन,आइसोलेसन बेडको प्रयोग हुन सकेको छैन। कोरोना संक्रमणका फैलिएको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मी संग आवश्यक परामर्श लिन आग्रह गरिएको छ।