भरतपुर– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ।
जिल्लामा संक्रमितको संख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी शय्या थप गरेको बताएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चार वटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको हो। वार्डमा अहिले २४ संक्रमितको उपचार भइरहेको छ।
कोभिड वार्डमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले ठूलो समस्या नपर्ने अनुमान गरिएको छ ।
प्रदेश, सङ्घीय सरकार र दातासँग भेन्टिलेटरलगाया उपकरण माग गरेको डा गौतमले जानकारी दिए। जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गरेको हो ।