जुम्ला- कोरोना संक्रमणदर बढेको भन्दै जुम्ला कालिकोटको सिमाना नाग्म बजारमा हेल्थ डेस्क स्थापना गरिएको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाबाहिरबाट जुम्ला प्रवेश गर्नेहरुको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरेको हो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
‘अहिले हरेक स्थानीय तहमा हेल्थ डेस्क स्थापना त भएका छन्। तर प्रभावकारी देखिएको छैन,’स्वास्थ्य प्रमुख सापकोटाले भने,‘अब हरेक जुम्ला भित्रिने नागरिकको तथ्यांक राखिनेछ। तापक्रम जाँच गरिनेछ। शंकास्पद व्यक्ति भेटिएको खण्डमा एन्टीजोन जाँच गरेर स्वास्थ्य परिक्षण समेत गर्ने व्यवस्था छ।’
उनले परीक्षणका क्रममा पोजिटिभ देखिएकालाई आइसोलेसनमा र नेगेटिभ देखिएकालाई घर पठाइने जानकारी दिए।
‘कोरोना पोजिटिभ देखिएको खण्डमा स्थानीय तहको समन्वयमा आइसोलेसनमा पठाइने छ। नेगेटिभ देखिएको खण्डमा घर पठाइनेछ,’ प्रमुख सापकोटाले भने,‘अब नियमित दुई जना स्वास्थ्यकर्मी खटिनेछन। सिमानामा व्यवस्थित हेल्थ डेस्क बनाउन सकेको खण्डमा कोरोना संक्रमण रोक्न सकिने अवस्था छ।’
अहिले सुर्खेत, नेपालगंज हुँदै जुम्ला आउने क्रम बढ्दो छ। हेल्थ डेस्क नहुँदा सिधै घर जाने गरेका छन्। यसले कोरोना संक्रमणको उच्च जोखिम हुने खतरा छ। उनले भने,‘अब सिमानमा प्रवेश गर्ने बित्तिकै कडा रुपमा निगरानी हुनेछ।’
निषेधाज्ञाको अनुगमन गर्दै हेल्थ स्थापना गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नेपाली सेना २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, डिएसपी दानबहादुर थापा सहितको टोली नाग्म बजार पुगेको थियो।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘जुम्लामा कडा निषेधाज्ञा छ। अब सिमानामा पनि कडाई गर्न जरुरी छ। सिमानाको उच्च निगरानीको लागि हेल्थ डेस्कले महत्वपुर्ण काम गर्नेछ। स्वदेश तथा विदेशबाट फर्किएका जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुनेछ।’
प्रमुख जिल्ला अधिकारी सहितको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्वास्थ्य सेवाका बारेमा अनुगमन गरेको छ। टोलीले प्रतिष्ठानमा जडित अक्सिजन प्लान्टको पनि अनुगमन गरेर जानकारी लिइएको हो।
अहिले प्रतिष्ठानको अक्सिजन प्लान्टले २४ घण्टामा ८ सिलिण्डर भर्दै आएको छ। प्लान्टबाट १ सय ५० बेडमा अक्सिजन जोडिएको छ। प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले अक्सिजन प्लान्टको क्षमता २४ घण्टामा ९६ सिलिण्डर भर्ने हो। तर बुस्टर कम क्षमताको भएकोले अक्सिजन उत्पादन हुन सकेको छैन।
अनुगमन टोलीले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादनका लागि बुस्टर खरिद गर्न आग्रह गरेको छ। बाहिनीपति सापकोटाले भने,‘बुस्टर कम क्षमताको रहेछ। अक्सिजन कम उत्पादन हुँदो रहेछ। अब बढि क्षमताको बुस्टर खरिद गरेको खण्डमा जुम्लामा अक्सिजन अभाव हुने देखिदैन्। प्रतिष्ठानको ध्यान बुस्टर खरिद तिर जानु पर्ने देखिन्छ। ’
टोलीले अस्पतालको सेवाप्रवाहका बारेमा जानकारी लिइएको थियो। कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै आइसोलेसन १२० बेड, आइसियु १५, भेन्टिलेटर १२ रहेको छन। प्रमुख जिल्ला अधिकारी थापा सहितको टोलीले खलंगा देखि नाग्म सम्मको निषेधाज्ञाको अवस्था अनुगमन गरेको थियो।