जुम्ला- उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितको लागि नि:शुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ। वैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो।
कोरोना माहामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष रज्जब अलिमनियारले जानकारी दिए। उनले भने,‘ निजी गाडी मासिक भाडा तिर्ने गरि कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ। पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ। संक्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गर्न सकिनेछ।’
कोभिड एम्बुलेन्सको व्यवस्था गरेको बिषयमा संघले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराइसकेको छ।
अध्यक्ष मनियारले भने,‘कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ। संघको हलमा आइसोलेसन बनाउने निर्णय पनि भएको छ। आइसोेलेसन कक्ष सञ्चालनको लागि कोभिड-१९ संकट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रह गरिएको छ।’
कोरोना महामारी सबैको संकट भएकोले सामुहिक भावनाका साथ लाग्नु पर्नेमा जोड दिए । यो कुनै एक व्यक्ति र समुहको समस्या होइन्, उनले भने,‘सबै नेपालीको समस्या हो । जुम्लाको सन्दर्भमा सबै जुम्लाबासीको हो । यो रोग संग लड्न सबैको हातेमालो र सक्रियता हुन आवश्यक छ । ’
एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बर समेत तोकिएको छ। उद्योग वाणिज्य संघको ल्याण्डलाइन नम्बर ०८७५२००३८ मा फो गर्न सकिनेछ। यसैगरी ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । सम्पर्क व्यक्तिको रुपमा उद्योग बाणिज्य संघको कर्मचारी पारस उपाध्यायलाई तोकिएको छ।