फाइल तस्बीर
महेन्द्रनगर- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ।
गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
'लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ', प्रवक्ता थापाले भने, 'लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ।' उनले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताए।
'मार्टका दुई जनालाई सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले रु ६०० का दरले जरिवाना गर्नुभएको छ।लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको छ,' थापाले भने।
उनले कोरोनाको दोस्रो लहर शुरु हुनु अघिदेखि नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको जानकारी दिए। कञ्चनपुर प्रहरी यहाँको गड्डाचौकी नाकाबाट गौरीफन्टा नाकाको डोकेबजारसम्म भारतबाट स्वदेश फर्किने नेपालीलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षण गराउन आवश्यक व्यवस्थापनलगायतका काममा खटिँदै आएको छ।
१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान
कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए।
'यहाँ स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर अहिले जडान गरियो। यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ,' उनले भने। हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको उनले जानकारी दिए।
उनले भने, 'युनिसेफको सहयोगमा अब अस्पतालले नै अक्सिजन आपूर्ति गर्ने भनेका छौँ।अक्सिजन आपूर्तिका लागि यहाँको निजीस्तर र स्थानीय तहबाट पनि आर्थिक सहयोग भएको छ।' अस्पतालको अस्थायी कोरोना अस्पताल, आइसीयू र आकस्मिक कक्षमा सङ्क्रमितको उपचार भइरहेको छ। छ शय्या रहेको अस्पतालको आइसीयू कक्ष कोरोनाको दोस्रो लहर शुरु भएयता सङ्क्रमितले भरिभराउ छ।
यता स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना सङ्क्रमणको दोस्रो लहरमा कञ्चनपुरमा पुरुष तथा महिला गरी ११५ जनाले ज्यान गुमाइसकेको जनाएको छ। कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लाभर हाल पाँच हजारभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए।
'एन्टिजेन र पिसिआर परीक्षणबाट यहाँ पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएका छन्। एक÷दुई दिनयताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर न्यूनरूपमा घटिरहेको देखिन्छ,' उनले भने।
उनले भारतबाट स्वदेश फर्किने नेपालीको यहाँको गौरीफन्टा नाका र गड्डाचौकी नाकामा दिनहुँ कोरोना परीक्षण भइरहेको जानकारी दिए।
रासस