काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागमा दर्ता भएका चार वटै कोभिड खोप उत्पादक कम्पनीलाई पत्राचार गर्ने भएको छ।
नेपालमा खोप उपलब्ध गराउने सक्ने नसक्ने, प्रति डोज कति मूल्यमा उपलब्ध गराउन सक्ने लगायतका विषयमा पत्राचार गर्ने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागले चार वटै कम्पनीलाई छिटै पत्राचार गर्ने तयारी गर्ने बताइएको छ।
‘खोप तत्काल आउने सम्भावना त छैन। तर पनि हामीले खोपका लागि प्रयास जारी राखेका छौँ। चार कम्पनीलाई पत्राचार गर्ने तयारी भएको छ,’ स्वास्थ्य सेवा विभाग स्रोतले भन्यो।
औषधि व्यवस्था विभागमा भारतका २ कम्पनी, चीन र रसिया एक एक खोप उत्पादक कम्पनीले दर्ता अनुमति पाएका छन्।
भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।