जुम्ला- जुम्लामा नेपाली सेनाले कोभिड सचेतना पेट्रोलिङ शुरु गरेको छ। कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको बेला जिल्ला सुरक्षा समितिले गरेको निषेधाज्ञासंगै नेपाली सेनाले कोभिड पेट्रोलिङ शुरु गरेको हो। पेट्रोलिङमा कोरोना विरुद्धको सचेतना फैलाउने गरिएको नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले जानकारी दिए।
उनका अनुसार दैनिक दुई पटक कोभिड पेट्रोलिङ हुने गरेको छ। पेट्रोलिङमा निषेधाज्ञाको पुर्ण पालना गर्न आग्रह गर्नुका साथै घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न,साबुनपानीले हातधुन र सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न सचेत बनाउने गरिएको गणपति रायमाझी बताउँछन्।
उनले भने,‘कोभिड सबै नेपालीको सामुहिक समस्या हो। सामुहिक समस्याको समाधान सामुहिक सतर्कताले मात्र संभव छ। त्यही भएर नेपाली सेना पनि सचेतना फैलाउँदै अघि बढेको हो।’
सेनाले स्थानीय खस भाषामा प्रचार सामाग्री तयार पारेको छ। गाडी लिएर घरदैलोमै पुगेर सुचित गर्छ। स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरि आफू बच्न र अरुलाई पनि बचाउनको लागि सुझाव दिने गरेको नेपाली सेनाले जनाएको छ।
जनघनत्व धेरै भएको र भिडभाड धेरै हुने क्षेत्रमा सचेतना फैलाउने गरिएको हो। सदरमुकाम खलंगाको दानसाँघुदेखि कर्णाली प्राविधिक शिक्षालय हुँदै तातोपानी गाउँपालिकासम्म गाडी लिएर माईकिङका माध्यमबाट कोभिड पेट्रोलिङ गर्ने गरिएको हो।
नम्बर २४ बाहिनीअड्डा जुम्लाका बाहिनीपति यमबहादुर सापकोटा निषेधाज्ञाको महत्व र कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सचेत पार्न पेट्रोलिङ गरिएको बताउँछन। उनले भने,‘यहाँ सबै एकैनासको मानिस बस्दैन्। सबै पेशा,समुह, जातीका समुदायलाई कोरोना भाइरस विरुद्धको सचेतना फैलाउन आवश्यक छ। त्यही भुमिका सेनाले निर्वाह गरिरहेको छ।’
निषेधाज्ञाको पालना नगरिरहेकालाई सम्झाई बुझाइ गर्ने देखि संकटपुर्ण अवस्थाको सामाना गर्न अनिवार्य लकडाउनमा बस्न आग्रह गर्ने गरिएको उनले बताए। उनले कोभिड १९ संकट व्यवस्थापन समितिले गरेको निर्णय कार्यन्वयन गर्दै संक्रमणमुक्त जुम्लाका लागि सचेतना आवश्यक रहेको बताउँदै सेनाको पट्रोल मार्फत त्यो कार्य भइरहेको बताए।
उनले कोरोना संक्रमितको व्यवस्थापन, संक्रमणबाट मृतकको शव व्यवस्थापन देखि सचेतना क्रियाकलापमा काम भइरहेको बताए। 'यहाँका मान्छे जानकार छैनन्। माइकिंग गरेर स्वास्थ्य चेतना फैलाउँदैछौँ,' बाहिनीपति सापकोटाले थपे ‘यो हाम्रो कर्तव्य हो जिम्मेवारी पनि। तर जनता सचेत हुनु पर्यो। लकडाउनको पुर्णपालना गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सुरक्षित बस्नु पर्यो। सेनाले दिनको खोजेको सन्देश यही हो।’
सेनाले कोरोना लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्यसंस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।