काठमाडौं– कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले भिडभाड बढी हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ।
संक्रमण अवस्था पहिचान गरी महामारी नियन्त्रण गर्न कामपाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग मिलेर एन्टिजेन परीक्षण थालेको हो।
परीक्षणका क्रममा मंगलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ। आज (बुधबार) टुकुचा तरकारी बजारमा परीक्षण गरिने महानगरले जनाएको छ।
उच्च संक्रमणको सम्भावना रहेका स्थानमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य महानगरको छ।
कामपाको सहकार्यमा धेरै संक्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले बताए।
त्यसैगरी, भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायत स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुने उनले बताए।
कामपाले संक्रमित बढेसँगै बिरामी बढेसँगै पीसीआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ। गत शनिबारसम्म स्वाब संकलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।
कामपाको ३२ वडाबाट अहिले दैनिक ६ सय जनाको परीक्षण हुने गरेको छ।