जुम्ला- जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ। पहिलो पटक पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। यो संगसँगै जनप्रतिनिधि र कर्मचारीको टोली सुरक्षा मापदण्डको पालना गर्दै गाउँगाउँमा सचेतना फैलाउन परिचालन समेत भइसकेको छ।
पातारासीले ४० बेडको संस्थागत आइसोलेसन बनाएको छ। चिकित्सक सहितको ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा जनताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले जुनसुकै काम गर्न सक्ने बताउँछन्।
'होम आइसोलेसनका कारण गाउँमा संक्रमण भयावह हुन थाल्यो। कोरोनाबाट नागरिक जोगाउन र संक्रमण रोकथाम गर्न संस्थागत आइसोलेसनको विकल्प देखिएन,' उनले भने,‘संस्थागत आइसोलेसन बिना कोरोना रोकथाम गर्न नसकिने निष्कर्ष सहित जुटेका छौँ। यो कार्यमा स्थानीय नागरिकले पनि पुर्ण सहयोग गर्नुभएको छ। ’
लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित रुपमा बसेको सबै संक्रमितलाई संस्थागत आइसोलेसनमा ल्याउन शुरु भइसकेको पातारासी गाउँपालिकाले जनाएको छ।
उनले भने,‘हामी स्थानीयबासिन्दाको स्वास्थ्य सुरक्षाका लागि अति संवेदनशिल बनेका छौँ। गाउँपालिकाबासीले पनि स्थानीय सरकारले थालेको काममा साथ दिनुपर्छ। जनता र सरकारबीचको सुमधुर सम्बन्धले मात्र कोरोना संग जीत्न सकिन्छ। ’
विशेषज्ञ डाक्टर औषधी उपचार सहितको आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापा बताउँछन। उनले भने,‘संक्रमण फैलन नदिन सचेत छौँ। संक्रमण रोकथाम तथा नागरिकलाई जोगाउन हामी पूर्वतयारमा जुटिसकेका छौँ।’
गाउँपालिकाले विशेषज्ञ डाक्टर संक्रमित बोक्ने निःशुल्क एम्बुलेन्स,तयारी अवस्थामा राखेको छ। जटिल खालका समस्या समाधान गर्नका लागि पालिकास्तरमा विपद प्रतिकार्य टीम गठन गरेर परिचालन गरिएको छ।
गाउँपालिका भित्रका सुत्केरी तथा बिरामीलाई बोक्ने एक र संक्रमित बोक्ने अर्को गरि दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ। कुनै पनि समयमा नागरिकले स्वास्थ्यमा समस्या आउने वित्तिकै अस्पताल सम्म लैजान सकिने गरि व्यवस्थापन गरिएको अध्यक्ष बोहोराले बताए।
पातारासीका सबै वडा वडामा पुगेर गाउँपालिका अध्यक्ष लछिमान बोहोराको नेतृत्वमा कोरोना विरुद्धको सचेतना अभियान चलेको छ। जुम्लाका आठ स्थानीयतह मध्ये कोरोनाको दोस्रो लहरमा संस्थागत आइसोलेसन बनाएर चिकित्सक सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याउने पहिलो गाउँपालिका हो।
होम आइसोलेसनले संक्रमण गाउँ गाउँमा फैलिएको र तत्काल सबैले संस्थागत आइसोलेसन बनाउनु पर्ने निर्णय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाको बैठकले गरेपछि पातारासीले निर्णय हुबुह कार्यन्वयन गरेको छ।
यो गाउँपालिकाले संक्रमण रोकथामका लागि सुरुदेखि राम्रो काम गर्दै आइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजिव शाह सबै स्थानीय तहमा विशेषज्ञ चिकित्सक पठाउन तयार रहेको बताउँछन। उनले भने,‘तर स्थानीय तहको सक्रियता देखिएन। होम आइसोलेसनले दैनिक संक्रमण बढ्दै छ।'
अहिलेसम्म कुनै स्थानीय तहले चिकित्सकको माग गरेका छैनन्। न चिकित्सक माग गरेका छन्। नत कुनै तयारीका बारेमा जानकारी आएको छ। उनले भने,‘यो अवस्थाले कोरोना संक्रमणको अवस्था भयाभह हुने देखिन्छ। समयमै सचेत बनौँ।’