काठमाडौं– चितवन मेडिकल कलेजले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नि:शुल्क स्वास्थ्य उपचार गर्ने निर्णय गरेको छ।
अस्पतालका अध्यक्ष डा हरिशचन्द्र न्यौपानेले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएमा आइसोलेसनमा राख्दा सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने जानकारी दिए।
डा न्यौपानेले कोभिडका बिरामीको स्वास्थ्य उपचार तथा केयरमा खटिने स्वस्थ्यकर्मीलाई दैनिक अतिरिक्त भत्ताको समेत व्यवस्था गर्ने निर्णय समेत गरेको छ।
आइसीयूमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक १ हजार र आकस्मिक सेवा कक्षमा खटिनेलाई ७५० रुपैयाँ भत्ता दिने निर्णय गरिएको डा न्यौपानेले बताए।
‘कोरोना संक्रमितको उपचारमा खटिनेहरुलाई हामीले पनि प्रोत्साहन भत्ता दिने निणय गरेका छौं,’ उनले भने, ‘कोरोनामा खटिएका नर्स लगायत स्वास्थ्यकर्मीलाई कोरोना परीक्षण, पोजिटिभ भएका उपचार हामीले नि:शुल्क गर्ने निर्णय गरेका छौं।’
कोरोना संक्रमितको स्वास्थ्यउपचार तथा केयरमा खटिने स्वास्थ्यकर्मीलाई मेडिकल कलेजको होस्टलमै बस्ने व्यवस्था समेत गरिएको डा न्यौपानेको भनाइ छ।
उनका अनुसार चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी करिब ४०० सय जना रहेका छन्। उनका अनुसार कोभिडमा हाल २४० जना नर्स र १०० जना डाक्टर खटिएका छन्।
उनले चितवन मेडिकल कलेजमा हाल कोरोना संक्रमितका लागि २५३ वटा बेड व्यवस्थापन गरिएको जानकारी दिए।
ती मध्ये १६२ वटा आइसीयू, ७३ वटा एचडीयु, कोभिड क्याविन २५, आकस्मिक आइसीयू १६ र आइसोलेसन २० वटा रहेको डा न्यौपानेको भनाइ छ।
हाल अस्पतालमा १८८ जना कोरोना संक्रमित उपचाररत छन्। ती मध्ये आइसीयूमा १४४ जना, २७ जना एचडीयू, कोभिड क्याविनमा १७ जना, आकस्मिक आसीयूमा १२ जना, आइसोलेसनमा ९ जना र पेडियाट्रिक आइसीयूमा २ जना कोरोना संक्रमित उपचाररत छन्।
डा न्यौपानलेका अनुसार आइसीयूमा रहेकाहरु मध्ये ४१ जना भेन्टिलेटर सहितको आइसीयूमा उपचाररत छन्।