काठमाडौं– नेपालमा देखिएको डबल र ट्रिपल म्युटेन्ट कोरोना भाइरस नेपालका अधिकांश जिल्लामा फैलिएको बताएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस नेपालभर फैलिएको जानकारी दिए।
‘भारतको जस्तै अवस्था नेपालमा पनि भयो, सबै उमेर समुहका व्यक्तिहरुलाई अस्पताल भर्ना हुनुपर्ने, अक्सिजन चाहिने, जटिलता हुने दर तुलनात्मक रुपमा बढी भएको देखियो,’ उनले भने, ‘असर गरेको हिसाबले यो हाम्रो देशको सबै भागमा फैलिसकेको स्पष्ट हुन्छ।’
नेपालमा अहिले देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस बेलायतमा सुरुमा देखिएको भरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहेको समेत डा पौडेलले जानकारी दिए।
उनले प्रारम्भिक अनुसन्धानले सुरुमा बेलायतमा देखिएको भेरियन्ट भन्दा बढी संक्रामक रहेको पत्ता लागेको जानकारी दिएका हुन्।
डा पौडेलका अनुसार नेपालमा देशभरबाट ६ देखि ८२ वर्ष उमेर समुहका व्यक्तिहरुको नमूनाबाट ३५ जनाको जीन सिक्वेन्सिङ गर्दा ३४ जनाको वि.१.६१७.२ भेटिएको र एउटा मा बी.१.६१७.१ भेटिएको थियो ।
नेपालमा गत चैतदेखि संक्रमण बढ्नुको कारण नयाँ भेरियन्ट जिम्मेवार रहेको डा पौडेलको भनाइ छ।
उनले प्रारम्भिक अध्ययनहरुले ट्रिपल भेरियन्टको कोरोना भाइरस सर्ने दर उच्च रहेको पनि जानकारी दिए।
डा पौडेलका अनुसार नेपालको कुल जनसंख्याको करिब ८ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको पनि बताए ।
यस्तै करिब १ प्रतिशतले दुवै डोज खोप पाएको भन्दै डा पौडेलले कोभिसिल्ड खोप लगाएका व्यक्तिहरुमा नयाँ भेरियन्टको कोरोनाले जटिलता कम गर्न र मृत्युदर कम गराउन सहयोगी रहेको पनि जानकारी दिए।
भिडियो