काठमाडौं - नेपाल जनस्वास्थ्य संघले कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न भन्दै ध्यानाकर्षण गराएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रणका लागि विभिन्न कामहरु प्राथमिकता साथ सञ्चालन गर्न भन्दै १० बुँदे सुझाव दिएको छ।
स्थानीय निकायको स्वास्थ्य शाखामा कम्तीमा जनस्वास्थ्य विद्यामा स्नातक गरेको वा सोभन्दा माथि योग्यता भएका अधिकृत तथा स्वास्थ्य क्षेत्रका अन्य विद्याका थप जनशक्तिहरुको व्यवस्थापन गरी जिम्मेवारी तथा आवश्यक स्रोत साधन सहितको संरचना विकास गर्न स्थानीय तहको ध्यानाकर्ष गराएको छ।
यस्तै, निशुल्क एन्टीजेन आरटी पिसिआर परीक्षण सहित कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने, स्थानीय स्तरमा संक्रमितहरुलाई मापदण्ड अनुसारको आवश्यक संस्थागत आइसोलेसन सेन्टरको व्यवस्था गरी अनुगमन गर्ने, कोरोना रोकथामका लागि स्थानीय तहका सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा समन्वय गरी परिचालन गर्नुपर्ने लगायत सुझाव दिएको छ।
संघले समुदायमा आधारित रोकथाम तथा नियन्त्रणको रणनीति लागू गर्न समेत स्थानीय तहको ध्यानाकर्षण गराएको छ। कोरोना रोकथामका लागि स्थानीय सरकारको प्रमुख भूमिका हुने भन्दै सक्रिय रुपमा काम गर्न संघको आग्रह छ।

