काठमाडौं - आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालले कोभिड-१९ उपचारमा आयुर्वेदिक औषधिहरुको भ्रामक प्रचार र दाबी नगर्न आग्रह गरेको छ।
परिषदले एक सूचना जारी गरी कोभिड-१९ को उपचारमा अनावश्यक दाबी गर्ने गरेको र आयुर्वेदीय औषधिहरुको भ्रामक प्रचार गरिएको पाइएकाले यस किसिमको अवाञ्छित गतिविधिहरु नगरिदिन आग्रह गरेको हो। परिषदमा दर्ता नभएका अनधिकृत व्यक्तिहरुबाट आयुर्वेद तथा जडिबुटी विज्ञको रुपमा विभिन्न सामाजिक सञ्जालबाट अन्तर्वार्ता एवं प्रचार प्रसार गर्ने गरेको सूचनामा उल्लेख छ।
परिषदमा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपालमा कोभिड-१९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिकाको आधारमा मात्र विभिन्न लेख, भनाई अन्तर्वार्ता आदि मार्फत आफ्ना विचार प्रस्तुत गर्न आग्रह गरिएको छ। आफ्नो आचार संहिता भित्र रहेर मात्र रोगको उपचार, निदान आदिको विषयमा अभिव्यक्ति दिन परिषदको आग्रह छ।
