जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातीरोग, स्नायुरोग, नाक,कान, घाँटी सेवा र छालारोगको विशेषज्ञ सेवा थप गरेको हो।
कर्णाली प्रतिष्ठानका प्रवक्ता डा रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन्।
उनले कर्णालीबासीले नाक, कान, घाँटी, स्नायु, छाती र छाला रोगको उपचार पनि जुम्लामै हुने बताए। यी रोगको सेवा नहुँदा महंगोमा उपचार गराउनु पर्ने बाध्यता थियो,’ प्रवक्ता भट्टराइले भने,‘अब कर्णालीमै यो रोगको उपचार हुन्छ। ढुक्क भएर उपचार गर्ने वातावरण सिर्जना हुँदैछ।’
प्रवक्ता भट्टराइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस, बीएनएस, ब्याचलर इन क्लिनिकल न्युट्रेशन बिषयहरुको निरीक्षण भएर सञ्चालनको तयारीमा रहेको बताए। उनले शिक्षक, आवास, कक्षाकोठा, अस्पतालदेखि चेरे चौर सम्मको बाटो व्यवस्थापन, आधारभुत साइन्स भवन निर्माणका लागि सम्झौता भई काम शुरु भइसकेको जानकारी समेत दिए। अहिले स्नातकोत्तर तहको कार्यक्रमको कोटामा पाँच जना भर्ना भएर अध्ययन गरिरहेका छन्।
प्रवक्ता भट्टराइले प्रतिष्ठानको भर्खरै सम्पन्न सभा बैठकले प्रतिष्ठानको बजेट अनुमोदनका साथै रिक्त रहेका सभा सदस्य, प्राज्ञिक परिषदको सदस्यहरुको नियुक्ती गरेको समेत जानकारी दिए।