जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिकाले कोरोना संक्रमित भएर संस्थागत आइसोलेसनमा बसि निको भएका संक्रमितलाई फुलमाला लगाएर घर फर्काएको छ। हाडसिँजा स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १९ जना संक्रमित निको भएपछि फुलमाला र अविर लगाइदिएर घर फर्काएको हो।
आइसोलेसनमा जाँदा निकै निराश र भारी मन लिएर गएका संक्रमित निको भएर फर्किदा निकै उत्साहित थिए। हरेकका गलामा फुलमालमा लाइदिँदा निको भएकाहरु खुसि हुँदै घर फर्किएका थिए।
स्वास्थ्य चौकीले निको भएका संक्रमित सबैलाई फुलमाला लगाएपछि उनीहरुले भने,‘कोरोना लागेको थाहा पाउँदा जति दुखि थियौँ। निको भएर घर फर्कन पाउँदा उति नै खुसि छौँ।’
गलामा फुलमाला र अविरको टिका लगाएर घर फर्कदा संक्रमित निकै खुसि थिए। हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्याय एकै पटक १९ जनाले कोरोना जित्नु सामान्य नभएको बताउँछन्। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको टोली पुगेर संक्रमितलाई एन्टिजेन परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको थियो।
इन्चार्ज उपाध्यायले भने ‘घर पठाएकालाई अझै पनि घरमा १ साता होम आइसोलेसनमा बस्न सुझाएका छौँ। उनीहरूको मनोबल उच्च बनाउन हौसला स्वरूप फूलमाला लगाइदिएका हौँ। यो कार्यले उनीहरुमा उत्साह मिलेको छ।’
संक्रमितसहित उनीहरूको घरपरिवार, छरछिमेकमा सम्पर्कमा रहेका ८६ जनालाई कन्ट्याक ट्रेसिङ गरेर एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। कनकासुन्दरी भित्र विभिन्न बस्तीमा अब ११ जना संक्रमित होम आइसोसनमा छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको उच्च निगरानीमा छन्। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले निको हुने उनले बताए।
कनकासुन्दरी गाउँपालिकाले कोटघर स्वास्थ्यचौकीमा २५ बेड र हाँडसिंजा स्वास्थ्य चौकीमा २५ बेड गरी ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ। संगै ५ बेडको कोभिड अस्पताल पनि सञ्चालनमा छ।