काठमाडौं - नेपाल चिकित्सक संघले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि कल सेन्टर सुरु गरेको छ।
एक लाख बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको भन्दै संघले उनीहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि संघले ११५६ नम्बरको हटलाइन कल सेन्टर सुरु गरेको हो।
अमेरिका नेपाल मेडिकल फाउण्डेसन, ओम आदी फाउण्डेसनको संयुक्त आयोजना, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाल टेलिकम, नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्यमा कल सेन्टर सुरु गरिएको संघले जनाएको छ।
आइसोलेसनमा रहेका संक्रमितहरुले विशेषज्ञ चिकित्सकहरुसँग विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले बताए। हाल उक्त कल सेन्टर बिहान ७ देखि बेलुकी ८ बजेसम्म खुला रहनेछ। केही समयपछि २४ सै घण्टा सञ्चालन गर्ने तयारी समेत भएको संघले जनाएको छ।
हाल तीन महिनालाई कल सेन्टर सुरु गरिएपनि आवश्यकता अनुसार बढाउँदै लैजाने महासचिव रिजालले जानकारी दिए।
यस्तै संघले एम्बुलेन्स सेवा समेत सुरु गरेको छ। भारतीय दूतावासबाट उपहार स्वरुप प्राप्त गरेको संघले शनिबारदेखि एम्बुलेन्स सेवा सुरु गरेको हो। एम्बुलेन्स आवश्यक परे संघका प्रशासकीय सहायक प्रवेश लामिछानेलाई ९८४००१४३०७ मा सम्पर्क गर्न सकिनेछ। साथै एम्बुलेन्स चालक सुरज तामाङलाई पनि ९७४६२७१४१२ नम्बरमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।
संघका अनुसार सुरुवाती चरणमा उक्त एम्बुलेन्स बिहान ७ देखि बेलुकी ८ बजेसम्म मात्र सञ्चालन हुनेछ।