बाग्लुङ- राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बाग्लुङका लागि अक्सिजन सिलिण्डर सहयोग गरेका छन्। कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभावका कारण समस्या भइरहेको समयमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन्।
बाग्लुङ अमलाचौरका पौडेलले आफ्ना बाबुको सम्झनामा स्थापित भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानको तर्फबाट निःशुल्क रुपमा जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पताल तथा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा सिलिन्डर प्रदान गरेका हुन्।
बाग्लुङमा समुदायस्तरमा तिब्र रुपमा कोरोना सक्रंमण फैलिएको छ। अक्सिजन अभावले बिरामी उपचार गर्न बाहिर लैजानुपर्ने अवस्था छ । बिरामीले गृह जिल्लाकै अस्पतालमा उपचार गर्न पाउन भनेर मानवीय सेवाको भावले अक्सिजन सहयोग गरेको सह–अध्यक्ष पौडेलले बताए।
‘नागरिकहरु अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहेका छन्,’ पौडेलले भने, ‘सानो सहयोगले कसैको जीवन बच्न सहयोग पुगोस भन्ने उद्देश्य हो।’
अक्सिजन धौलागिरी अस्पतालमा ५ थान सहित जिल्लाको जैमिनी नगरपालिकाको कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ३ थान, अमलाचौर स्वास्थ्य चौकीद्धारा संचालन भएको एम्बुलेन्समा २ थानका दरले प्रदान गरेको प्रतिष्ठानका बागलुङ संयोजक गोविन्द बहादुर पौडेल ‘गोपाल’ बताए।
काठमाण्डौंको एभरेष्ट अक्सिजन ग्यास उद्योगबाट सिलिन्डर बागलुङ पठाएका हुन्। अक्सिजन सिलिण्डर संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल नेपाली कांग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्याय, सचिव नवराज पौडेलको र पत्रकारको रोहबरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर र अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा शैलेन्द्र बि पोखरेललाई हस्तान्तरण गरिएको संयोजक पौडेलले जानकारी दिए।
अस्पतालमा कोरोनाका संक्रमित दैनिक बढ्दै जाँदा अक्सिजनको खपत बढेको र अस्पतालमा अक्सिजन सिलिण्डर पनि पोखरा भर्न पठाउने गरेको कारण थप समस्या उत्पन्न भएकोमा यसले थप राहत पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले बताए।