काठमाडौं - नेपाल फार्मेसी काउन्सिलले भरतपुर अस्पताललाई पत्राचार गरेको छ। अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी फर्मासिस्टले पाउनुपर्ने माग गर्दै त्यहाँका फर्मासिस्टहरु आन्दोलनमा उत्रिएपछि काउन्सिलले अस्पताललाई आइतबार पत्राचार गरेको हो।
अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन पत्राचार गरिएको परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेले बताए।
अस्पतालमा प्रचलित कानून, अस्पताल फार्मेसी निर्देशिका २०७२, जनशक्ति सम्बन्धी व्यवस्था र अस्पताल फार्मेसी के कसरी सञ्चालन भइरहेको छ भन्ने बारे पनि परिषदले विस्तृत जानकारी मागेको छ। पत्राचारको जवाफ यथाश्रिघ पठाउन भनिएको पाण्डेले जानकारी दिए। अस्पताल फार्मेसीहरु व्यवस्थित, वैज्ञानिक र कानूनी ढंगले मात्र सञ्चालन गर्न पाउने उनले बताए।
भरतपुर अस्पतालको फार्मेसी स्टोर कानून विपरित अहेवको भरमा चल्दै आएपछि त्यहाँका फर्मासिस्टहरु एक सातादेखि शान्तिपूर्ण आन्दोलनरत छन्। ६ बुँदे माग सहित उनीहरु जेठ २ गतेदेखि विरोध स्वरुप हातमा कालो पट्टी बाँधेर सेवामा खटिएका छन्।
भरतपुर अस्पतालको फार्मेसी भण्डार शाखा कानूनी व्यवस्था विपरित वर्षौदेखि अहेवको जिम्मेवारीमा सञ्चालन हुँदै आएको छ।