भरतपुर– चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ। हालसम्म संक्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइसकेको छ।
गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए। उनका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ।
नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउँगाउँमा आइसोलेशन केन्द्रको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।
इच्छाकामनामा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । तीमध्ये दुई संक्रमितको मृत्यु भएको छ। गाउँपालिकामा हाल सक्रिय संक्रमितको संख्या ३४ छ। रासस