झापा– कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ।
देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो।
नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताए।
सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएकोे उनले बताए। उनका अनुसार बुधबारसम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ स्काउटर सहभागी छन्। रासस