काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाको पहलमा काठमाडौं–३० रातोपुलमा कोरोना संक्रमित बिरामीको लागि अक्सिजन सहितको कोभिड–१९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।
नेता थापाको पहलमा सांसदको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ सँगको समन्वयमा काठमाडौं महानगरपालिका–३० द्धारा कोभिड–१९ आइसोलेसन सेन्टर निर्माण गरिएको हो।
सोमबारदेखि सञ्चालमा आएको आइसोलेसन सेन्टरमा हाललाई दैनिक २५ जनासम्म कोरोना संक्रमतिलाई भर्ना गरेर उपचार सेवा दिइने नेता थापाले बताए।
तर कोरोना संक्रमितको चापको आधारमा ५० शय्यासम्म सञ्चालन गर्न सकिने गरी सोही अनुसार भौतिक पूर्वाधार र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको नेता थापाले जानकारी दिए।
उनले काठमाडौंका अन्य ठाउँमा खोलिएका आइसोलेसन भन्दा फरक व्यवस्थापनका साथ आइसोलेसन सेन्टर संचालन गरिएको पनि बताए।
‘काठमाडौंमा खोलिएका अन्य आइसोलेसन सेन्टर जस्तो संक्रमितलाई अलग्गै राख्नका लागि मात्र यो सेन्टर खोलिएको होइन,’ नेता थापाले भने, ‘यहाँ प्राइमरी हस्पिटलको जस्तो सेटअप छ, हाइ फ्लो अक्सिजन सहितको उपचार सेवा दिन सक्ने गरी पूर्वाधार सेटअफ गरिएको छ।’
उनले कोरोना संक्रमितलाई स्वास्थ्य उपचार तथा केयरका लागि मेडिकल अफिसर, नर्सिङ स्टाफहरुको पनि व्यवस्थान गरिएको र विशेषज्ञ चिकित्सकहरुले पनि आवश्यकता अनुसार भोलेन्टियरको रुपमा सेवामा खटिने जानकारी दिए।
थापाका अनुसार आइसोलेसन सेन्टरमा हाल ४ जना मेडिकल अफिसर, १२ जना नर्स र अन्य स्वास्थ्यकर्मी तथा सहयोगी छन्। सेन्टरमा कोरोना संक्रमितका लागि एक्सरे सेवा समेत दिइने छ।
काठमाडौं उपत्यकाका अन्य आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई अक्सिजन सपोर्ट सहितको उपचार आवश्यक परेमा त्यहाँबाट बिरामीहरुलाई सो सेन्टरमा भर्ना लिइने जानकारी पनि थापाले दिए।
थापाले होम आइसोलेसनमा रहेका बिरामीलाई आवश्यक परेमा भर्ना गर्ने, बिरामीको एक्सरे गराउने तथा अन्य चिकित्सकीय परामर्श पनि सोही आइसोलेसन सेन्टरबाटै दिइने पनि बताए।
थापाका अनुसार सेन्टरमा संक्रमितलाई निःशुल्क उपचार गरिने छ।
यस्तै, काठमाडौंका विभिन्न अस्पतालका कार्यरत नर्सहरुमा कोरोना संक्रमण भएर अक्सिजन सहितको उपचार सेवा आवश्यक परेमा उनीहरुलाई पनि भर्ना गरेर उपचार सेवा दिइने बताए।
थापाले आफ्नो नगरभित्र स्वास्थ्य सेवाका कामलाई पनि जनप्रतिनिधिले सहयोग गर्नुपर्छ भन्ने उदेश्यले आफूले कोभिड आइसोलेसन निर्माणका लागि पहल गरेको सुनाए।
‘म जनप्रतिनिधि भएकाले मैले समन्वय गरिदिएको हुँ, यो काठमाडौं महानगरको वडा नम्बर ३० ले संचालन गर्ने हो,’ नेता थापाले भने, ‘यो हामीले सरकारसँग समन्वय नै गरेर सञ्चालन गरेका हौं।’
नेता थापाले वडास्तरमै अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गर्दा केन्द्रमा रहेका अस्पतालहरुमा बिरामीको चाप कम हुने र नगरबासीले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।