काठमाडौं– कोरोना संक्रमितको उपचारमा खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको आवेदन माग गरेको छ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले कोरोना संक्रमितको उपचारमा खटाउन अस्थायी 'पुल' दरबन्दीमा राख्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवेदन दिन भनेको छ।
महाशाखाले एमडी इन्टनल मेडिसिन, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेसोलोजिष्ट, एमडीजीपी, मेडिकल अफिसर र स्टाफ नर्सहरुलाई आवेदन दिन सूचना प्रकाशित गरेको छ।
महाशाखाका निर्देशक डा पवनजंग रायमाझीका अनुसार कोरोना महामारीमा कोभिड विशेष अस्पतालमा खटाउन पुलमा चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आवदेन खुलाइएको जानकारी दिए।
डा रायमाझीका अनुसार आवेदन परेका चिकित्सक तथा नर्सहरुलाई स्वास्थ्यकर्मी अभाव तथा माग भएका कोरोना विशेष अस्पतालमा खटाइने छ।
त्यसका लागि महाशाखाले आवेदकहरुको सूची तयारी अवस्थामा राखी पहिलो आवदेन दिएकाहरुलाई प्राथमिकतामा राखेर आवश्यकता अनुसार अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा खटाइने छ।
आवेदन दिएकाहरुलाई महाशाखाले आफ्नो सम्पर्कमा राख्ने र आवश्यकता अनुसार खटाइ उनीहरुले खटिएको समयअवधिमा सरकारले तोकेको सेवा सुविधा पनि दिइने डा रायमाझीको भनाइ छ।
कोरोना संक्रमितको उपचार तथा केयरमा खटिन इच्छुक चिकित्सक तथा स्वास्थ्यकर्मीले महाशाखामै पुगेर वा महाशाखाको वेबसाइड मार्फत आवेदन दिन सक्ने डा रायमाझीले जानकारी दिए।