काठमाडौं- सरकारले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार कोभिड-१९ रोकथाम नियन्त्रण निदान र उपचारमा खटाउने निर्णय गरेको छ। यसरी खटेका स्वास्थ्यकर्मीले अहले गरेको कामको समय अवधि अनिवार्य सेवा अवधिमा गणना हुने छ।
सरकारले हालै ल्याएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा उक्त व्यवस्था राखिएको छ।
'अध्ययन बिदामा रहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई समेत कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको काममा लगाउन सकिनेछ। निजले त्यसरी गरेको सेवा अवधि निजले अध्ययन पश्चात गर्नुपर्ने अनिवार्य सेवाको अवधिमा गणना गरिनेछ' अध्यादेशमा लेखिएको छ।
स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार खटाउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विभाग, प्रतिष्ठान, अस्पताल र केन्द्र तथा सबै स्थानीय तहलाई यसअघि नै पत्र काटिसकेको छ।
मन्त्रालयले स्वास्थ्यकर्मीलाई खटिएकै तह/निकायबाट तलब भत्ता भुक्तानी हुने गरी आवश्यकता अनुसार कामकाजमा खटाउन पत्र मार्फत अनुरोध गरेको छ।