काठमाडौं- झापास्थित बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले वरिष्ठ चिकित्सक डा गोविन्द केसीले जारी गरेको विज्ञप्तिप्रति आपत्त जनाएका छन्।
डा केसीले सोमबार विज्ञप्ति निकाल्दै प्रसाईंलाई प्रधानमन्त्रीले नै संरिक्षत गरेको र प्रधानमन्त्रीकै आडमा प्रसाईंले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै विरोध जनाएका थिए।
'प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको तथा उनी संरक्षित मेडिकल माफियाका नाइकेद्वारा हाम्रो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
डा केसीको सोही विज्ञप्तिमा उल्लेख भएका भनाइप्रति प्रसाईंले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन्।
उनले प्रधानमन्त्रीसँग जोडेर बिएन्डसीबारे अनर्गल, भ्रामक, कपोलकल्पित र असत्य आरोप लगाइएको दाबी गरेका छन्।
'कोभिड-१९ को माहामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूउपर निजद्धारा विदेशी भुमीमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहिन , झुठा, र निकृष्ठ गालि गलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं,' प्रसाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रसाईंले बिएन्डसीको सम्बन्धन प्रक्रिया कानुनसम्मत रुपमा अघि बढिरहेकोमा अतिरञ्जित गरी विदेशी दलाल र माफियाको योजनामा गलत प्रचार गरिएको पनि दाबी गरेका छन्। उनले डा केसी र उनका सहयोगी डा जीवन क्षेत्रीले योजनावद्ध रुपमा प्रधानमन्त्री, विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई समेत धम्की दिने गरेको दाबी पनि गरेका छन्।
'डा गोविन्द केसी र निजका कथित सोलिडारीटीका संम्योजक कथित डा जिवन क्षेत्रीको धम्की पत्रको हामी पुनः घोर निन्दा र भत्र्सना गर्दै आगामी दिनमा नेपाल र नेपालीका विरुद्धमा यस किसिमको धम्की दिने र ललकार्ने कार्य वन्द गर्न चेतावनी दिन चाहन्छौं' विज्ञप्तिमा भनिएको छ।
यस्तो छ प्रसाईंद्वारा जारी विज्ञप्ति
यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.का सम्वन्धमा डा. गोविन्द के.सि. द्धारा आज मिति २०७८।२।१० मा प्रकाशित कथित विज्ञप्ती तथा निजका नाममा पर्दा पछाडि रहेर निजको माफियागिरीलाई प्रत्यक्ष परोक्ष पृष्ठपोषण गर्ने , विदेशीद्धारा पालित पोषित जीवन क्षेत्री नामक व्यक्ति समेतले यस कलेज तथा मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यू समेतलाई यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक , कपोलकल्पित, असत्य र झुठा अर्नगल आरोप तथा आक्षेपप्रति यस कलेजको गम्भिर ध्यानाकर्षण भएको छ ।
सर्वप्रथम, कोभिड १९ को माहामारीले नेपाल र नेपालीलाई आव्रmान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूउपर निजद्धारा विदेशी भुमीमा बसेर लगाईएका यस किसिमका भ्रामक, तथ्यहिन , झुठा, र निकृष्ठ गालि गलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं ।
यस संस्थाले साविकमा कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज÷क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्वन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ जारि हुनु अगावै २०७३ ।११।१५ गते श्री काठमाण्डौ विश्वविद्यालय समक्ष दिएको निवेदनका आधारमा काठमाण्डौं विश्वविद्यालयको सभाको ८९ औं बैठकले यस संस्थालाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाण्डौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ बैशाख २२ देखि २६ गते सम्म कलेजको प्रारम्भिक निरिक्षण गरि पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.लाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा नियमानूसार कामकारवाही अगाडि बढाएको विषयलाई अतिरन्जित गरि विदेशमा वसि विदेशी दलाल र विदेशमा एमविविएस एम डि पढ्न पठाउनेमानव तस्कर तथा माफियाको योजना बमोजिम नेपाली पुँजी र नेपाली विद्यार्थीहरुलाई विदेश लैजाने र विदेशमै अलपत्र पार्ने त्यससको ज्वलन्त उदाहरण चाईना बाट आएर अलपत्र परेका एम वि वि एस पढ्दै गरेका १५२ जना विद्यार्थी आज मेडिकल काउन्सीलको अगाडि ईन्टनसिप गर्न पाउँ भनि हारगुहार गर्दै रोई रोई हिंडेको देख्न सकिन्छ । सुनियोजित योजना अनुसार निजले यस किसिमको धम्कीपत्र सार्वजनिक गरेकोले निजको धम्कीपत्रबाट कुनै पनि राष्ट्रप्रेमी नेपाली भ्रममा नपर्नहुन हार्दिक अनुरोध गर्दछौं ।
अन्त्यमा , कोभिड १९ का कारण अहिले हजारौंको संख्यामा नेपाली नागरिकहरु दैनिकरुपमासंक्रमित भईरहेका, कतिपय नागरिकहरुको उपचार नपाएर फुटपाथ र गल्लिमै मृत्यु भईरहेको देख्न सकिन्छ ।नेपालमै पर्याप्त संख्यामा चिकत्सिक नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु र सुविधा सम्पन्न स्वास्थ्य संस्था तथा आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव भईरहेको अत्यन्त कठिन अवस्थाको सामाना गर्दै सरकारले आफ्ना नागरिकको जीवन रक्षा गर्न संचालित अभियानमा हामी देशमा नै बसेरआफ्ना नेपाली दाजुभाई दिदी बहिनीहरुको सेवामा अहोरात्र खटिरहेका छौं । यस अवस्थामा विदेशमा बसेर विदेशी दलाल र माफियाको पक्षपोषण गर्ने तथा मानव तस्करको उदेश्य साकार पारिदिने वद्नियतलेसम्माननीय प्रधानमन्त्रीज्यू, विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरु तथा यस संस्था समेतलाई अनावश्यक रुपमा धम्की दिई अत्यन्त भ्रामक , असत्य, कपोकल्पित, झुठा तथानिन्दनिय आरोप आक्षेप लगाई जारि गरिएको निज डा. गोविन्द के.सि.र निजका कथित सोलिडारीटीकासंम्योजक कथित डा. जिवन क्षेत्रीको धम्कीपत्रको हामी पुनः घोर निन्दा र भत्र्सना गर्दै आगामी दिनमा नेपाल र नेपालीका विरुद्धमा यस किसिमको धम्की दिने र ललकार्ने कार्य वन्द गर्नचेतावनी दिन चाहन्छौ । साथै नेपालको लोकतान्त्रिक आन्दोलनका धरोहर तथा “सम्वृद्ध नेपाल सुखी नेपाली” को लक्ष्य साकार पार्ने दुरदृष्टिका साथ नेपाल र नेपालीहरुका लागि अहोरात्र कार्य गरिरहनुभएका विकासप्रेमी हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू माथि यस किसिमको भ्रामक र संघिन आरोप र आक्षेप हामी राष्ट्रप्रेमी नेपालीलाई असैह्य हुने कुरा समेत जानकारी गराउन चाहान्छौं ।
दुर्गा प्रसाद प्रसाई
कार्यकारी निर्देशक
वि.एण्ड सी. टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर
पूर्वाञ्चल क्यान्सर हस्पिटल
मितिः २०७८।२।१०
यस्तो छ डा केसीद्वारा जारी विज्ञप्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको तथा उनी संरक्षित मेडिकल माफियाका नाइकेद्वारा हाम्रो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन । आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन् । आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन उनले अनेक हथकण्डा अपनाएका छन् ।
प्रधानमन्त्रीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आसयपत्र नवीकरण गरेको छैन । जबकि चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुन्छ । त्यसैले अस्पताल सञ्चालन भए पनि शिक्षण संस्थाका रुपमा उक्त संस्थाको कानुनी अस्तित्व शुन्य छ । अर्कोतिर त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरुलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन् ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेका छन् । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध हो । यही समयमा प्रधानमन्त्रीको संरक्षणमा रहेका स्वघोषित डन तथा उल्लिखित अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका एक सदस्यमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना हो । नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने ओली–संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो ।
केपी शर्मा ओलीको सक्कली चरित्र के हो भन्ने सम्बन्धमा समेत उनीसंग सम्बन्धित ऐतिहासिक सत्यतथ्यको सवैले जानकारी राख्नु पर्दछ । तब मात्र उनीबाट पटक पटक नेपाल देश र नेपाली जनता ठगिने क्रमको अन्त्य हुन सक्छ । उनी झापा हत्याकाण्डमा प्रत्यक्ष संलग्न मुख्य योजनाकार हुन् भन्ने कुरा विर्सदा हत्या गरिएका व्यक्तिको आत्मा, पीडित परिवारजन, मानवताका पक्षधर र मूलुकको न्याय प्रणालीको अनादर गरेको ठहर्छ । उनी २०२८ साल देखि २०२९ साल सम्म झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएका व्यक्ति हुन् भन्ने कुरा सम्मानीत अदालतले न्यायिक रुपमा पुष्टी गरेको विषय हो । उनी धर्मप्रसाद ढकाल, ज्ञानप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, रुद्रकान्त राजवंशी, ईश्वरी चुडाल, दुर्गा खरेल, ज्ञान बहादुर बस्नेत, कर्ण बहादुर गौतमको हत्यामा संलग्न व्यक्ति हुन् । अदालतले समेत व्यक्ति हत्याको घट्नामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो भन्ने कुरा मनन गर्नु आवश्यक छ ।
यो अवस्थामा चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न म चिकित्सा शिक्षा आयोगका सम्पूर्ण मर्यादित सदस्यहरुलाई अपिल गर्दछु । त्यसो नगरी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं । साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकहरुको अधिकार रक्षार्थ आवाज उठाउन पनि सबै नागरिकहरुसामू अपिल गर्दछु ।
हाल म द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिइरहको छु । चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छु ।
डा गोविन्द केसी
मरिब, यमन
२०७८ जेठ १०