काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कोभिड वार्डमा जाने मुख्यद्वारमा हरियो कपडा भएको स्ट्यान्ड (प्यासेन्ट स्क्रिन) राखिएका छन्।
प्यासेन्ट स्क्रिन विशेषगरी बिरामीको गोपनियता कायम गर्न वार्डमा प्रयोग गरिन्छ। तर, शुक्रराज अस्पतालको कोभिड वार्डमा प्रवेश गर्ने ढोकाको छेऊमा राखिएको प्यासेन्ट स्क्रिन भित्र बिरामी होइन कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव राखिएको छ।
शव राखिएको स्थानमा कोरोना संक्रमितका आफन्तहरुको ओहोरदोहोर चलिरहेको छ।
कोरोना संक्रमित तथा संक्रमितका आफन्तको आँखा त्यही प्यासेन्ट स्क्रिन भित्र राखिएका शवमा पर्छ।
बेडमा प्रवेश गर्ने बाटोमै शव देख्दा निको हुने आसा लिएर अस्पतालमा उपचारका लागि पुगेका कोरोना संक्रमित र उनका आफन्त पक्कै झस्किन्छन्।
कोरोना संक्रमित र तीनका आफन्तले अस्पतालको ढोकामै शवहरु देख्दा उनीहरुमा मनोसामाजिक असर पर्दैन ? हामीले अस्पतालका एक चिकित्सकलाई सोध्यौं।
‘असर त पर्छ नि! तर हाम्रो अस्पतालमा शव गृह (मर्चरी) नै छैन,’ ती चिकित्सकले भने, ‘बिरामीलाई नै राख्ने ठाउँ नपुगेको बेलामा शव व्यवस्थापन गर्ने ठाउँमा कसको ध्यान जान्थ्योर!’
उनका अनुसार अस्पतालको आकस्मिक कक्ष र वार्डहरुमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमितलाई नेपाली सेनाको शव व्यवस्थापनको टोली लिन नआएसम्म त्यही राखिन्छ।
‘अस्पतालमा मर्चरी छैन, आजभोली यो ढोकामा शव कहिल्यै टुट्दैन,’ अस्पतालका ती चिकित्सकले सुुनाए।
‘कोेभिड वार्डमा प्रवेश गर्ने ढोकामै किन शव राखिएको हो ?’ अस्पतालका निर्देशक डा सागर राजभण्डारीलाई हामीले सोध्यौं।
‘शव राख्ने ठाउँ नभएका कारण बाध्य भएर नै हामीले त्यहाँ राख्नुपर्ने अवस्था आएको हो,’ डा राजभण्डारीले भने, ‘बिरामीलाई नै राख्ने स्पेस पुगेको छैन।’
डा राजभण्डारीका अनुसार अस्पतालमा उपचारको क्रममा मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन नहुँदासम्म राख्नका लागि भूकम्पले भत्काएको पुरानो भवनको भुइँतलाको एउटा कोठा प्रयोग हुने गरेको थियो।
तर, जोखिमयुक्त भवनमा मुसा समेत लाग्ने भएकाले कोरोना संक्रमितको शव त्यहाँ नराखिएको डा राजभण्डारीको भनाइ छ।
‘रेड स्टिकर टाँसिएको भवनमा पहिला अन्य शव राखिन्थ्यो। तर, त्यो भवनमा विद्युत पनि छैन, व्यवस्थित पनि छैन, मुसा पनि लाग्ने भएकाले हामीले कोरोना संक्रमणबाट मृत्यु भएकालाई त्यहाँ राख्ने गरेका छैनौं,’ उनले भने, ‘लासलाई बिरामीसँगै राख्ने कुरा पनि भएन, अन्य ठाउँ हामीसँग छैन, बाध्य भएर पनि शवलाई त्यहाँ राख्न परिरहेको छ।’
डा राजभण्डारीले विशेषगरी विदेशी बिरामीको मृत्यु हुँदा उनीहरुको रिपोर्ट तयार पार्न समय लाग्दा थप समस्या भएको पनि बताए।
‘कहिलेकाँही विदेशी नागरिकको मृत्यु भएमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, सम्बन्धित एम्बेसीमा सम्पर्क गरेर रिपोर्ट तयार गर्नुपर्ने भएकाले २ देखि ४ दिनसम्म पनि राख्नुपर्ने बाध्यता छ,’ डा राजभण्डारीले भने, ‘आकस्मिक र वार्डमा भएका नेपाली बिरामी पनि नेपाली सेना नआउदासम्म एउटा शव ३, ४ घण्टापछि मात्र उठ्ने गरेको छ।’
डा राजभण्डारीले धेरै दिनसम्म शव राख्नुपर्ने अवस्था आइरहेकाले अस्पतालको ग्यारेजमा नै ४ च्याम्बरको मर्चरी निर्माण गर्न लागिएको पनि उनले सुनाए।
‘अहिले हामीलाई शव होल्ड गर्नुपर्दा समस्या भएको छ, त्यसैले ग्यारेज भएको ठाउँमा ४ च्याम्बरको मर्चरी एक सताभित्रमा बनाउने तयारी गरिसकेका छौं।’
डा राजभण्डारीले दोस्रो लहरको कोरोना संक्रमणमा संक्रमतिको मृत्युदर पनि बढी रहेको जानकारी दिए।
पछिल्लो समय अस्पतालमा समयमा उपचार नपाइने वा बेड नपाइने त्रासले बिरामीहरु घरमै बस्ने र गम्भीर अवस्थामा मात्र अस्पतालमा आइपुग्दा पनि मृत्युदर बढेको डा राजभण्डारीको भनाइ छ। उनले कोरोना संक्रमणको लक्षण देखिएमा समयमै अस्पतालमा आउन पनि आग्रह गरे।
भिडियो : अनुराग लम्साल