प्युठान- जिल्ला अस्पताल प्युठानमा हाइ डीपेन्डेन्सी यूनिट (एचडीयू) सेवा सुरु भएको छ। कोरोना संक्रमितको उपचारका लागि अस्पतालले उक्त सेवा सुरु गरेको अस्पतालका प्रमुख डा नविन दर्नालले बताए।
स्वास्थ्य मन्त्रालयले एक बर्ष अघि प्युठानका लागि पठाएको पाँच थान वाइप्याप मेसिन (सामान्य खालको भेन्टिलेर) मध्ये तीन वटा मेसिन सहितको पाँच बेडको एचडीयू कक्षबाट उपचार सेवा सुरु गरिएको छ। श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई यस कक्षमा राखेर उपचार गरिने अस्पतालमा कार्यरत फिजिसियन डा सुदिप अधिकारीले जानकारी दिए।
'मेसिनहरु पहिले नै आएको रहेछ' डा अधिकारीले भने, 'अक्सिजनको अभाव र आवश्यक जनशक्ति अभावका कारण संचालन भएको थिएन अहिले सुरु गरियो।'
सामाजिक सञ्जालमा भेन्टिलेटर मेसिन संचालनमा नआएको भनी प्रचार गरिएको विषयमा प्रष्ट पार्दै अस्पतालका प्रमुख डा दर्नालले हाई फ्लो अक्सिजन आवश्यक पर्ने भएकोले यसअघि सञ्चालन ल्याउन नसकेको जानकारी दिए।
सरकार र अन्य सहयोगी संस्थाबाट अक्सिजनको सुनिश्चितता भएपछि अस्पतालमा पहिलो पटक यो सेवा सुरु गरेको उनले बताए।
सरकारले अक्सिजन प्लान्टका लागि एक करोड पचास लाख बजेट बिनियोजन गरेकोले एचडीयू नियमित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने पनि उनले जानकारी दिए।
कोरोना संक्रमितको उपचारका लागि प्राथमिकता दिएर स्थापना गरिएको एचडीयूमा हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई प्रभावकारी सेवा दिन सकिने अस्पताल विकास समिति प्युठानका अध्यक्ष सिद्धिमणी सुवेदीले बताए।