काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन उद्योग वा अस्पतालका अक्सिजन सिलिण्डर हुन्, सोही उद्योग वा अस्पतालमा पुग्ने गरी व्यवस्था मिलाउन अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगमा भर्नका लागि फिर्ता नभएकोले समस्या बढ्दै गएको भन्दै यस्तो अनुरोध गरेका हुन्।
उनले एउटा उद्योगको अक्सिजन सिलिण्डर अर्कोमा जाने क्रम अत्यधिक बढेको र यसले आगामी दिनमा समस्या निम्त्याउन सक्ने बताए। ‘विभिन्न व्यक्ति, संघसंस्थाहरुले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेको अक्सिजन सिलिण्डरहरु समयमा नै जुन कम्पनीमा वा अस्पतालका हुन्, तिनै सोही ठाउँमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ अधिकारीले जारी गरेको सूचनामा भनिएको छ।
उनले अक्सिजन सिलिण्डर देशका विभिन्न ठाउँका दूरदराजमा थन्किएर रहेको भन्दै यसले अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितलाई अप्ठ्यारो हुने भएकाले सबै संवेदनशील बन्न आग्रह गरेका छन्।
